Friday, March 4, 2016

बाल तथा वातावरणमैत्री गैँडाकोट स्कूल




श्रीधर उपाध्याय
गैँडाकोट । मौलाकालिका मार्ग हुँदै डाँडाकालिका जाने क्रममा दायाँतीर गँैडाकोट ईंग्लीस स्कूल लेखिएको गेट देखिन्छ । गेटबाट छिर्ने वित्तिकै स्वागतका लागि राखिएको तामाको भाँडामा फूल सजाइएको छ । विद्यालयको प्रागंण भरी ढकमक्क फुल फुलेका छन् ।

 निलो रङ्ग लगाइएको विद्यालयको भवन अघि हरियाली देखिन्छ । हरियो रुख, आकर्षक विश्राम डेस्कहरु रहेका छन् । स–साना विद्यार्थीले भेट्ने गरि होचा खानेपानीको धारा राखिएको छ । विद्यालयका डेस्क बेन्च विद्यार्थीको सहज हुने गरि बनाइएको छ । विद्यालयमा विद्यार्थीलाई न कुनै सजाय दिइन्छ न कुनै मानसिक टर्चर । कक्षा कोठाको वातावरण सधैँ शान्त राखिने र विद्यार्थीलाई हौसला र पारिवारीक वातावरणमा अध्ययन गराउने गरेको विद्यालयकी शिक्षिका सरिता धितालले बताइन् । शनिवार यस विद्यालयलाई बालमैत्री र वातावरण मैत्री बिद्यालय घोषणा गरिएको छ । बिद्यालयको अभिभावक दिवसको अवसरमा गैडाकोट नगरपालिकाले  वालमैत्री तथा वातावरण मैत्री घोषणा गरेको हो । कार्यक्रममा गैँडाकोट नगरपालिकाका कार्यकारी अधिकृत एवं वातावरण मैत्री ÷ बालमैत्री स्थानीय शासन नगरसमितिका अध्यक्ष बद्रिप्रसाद तिवारीले गैँडाकोट स्कूललाई बालमैत्री तथा वातावरणमैत्री विद्यालयको रुपमा घोषणा गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नवलपरासीका जिल्ला शिक्षाअधिकारी मानबहादुर घिमिरेले बालमैत्री घोषणा हुनु ठूलो कुरा नभएर यसको दीर्घकालिन अभ्यासमा जोड दिनु प्रमुख मुद्धा भएको बताए । विद्यालयका प्रिन्सीपल हिरालाल अर्यालले बिद्यालयलाई आर्थिक रुपमा पारदर्शी बनाउने भन्दै यसलाई नाफामुखी भन्दा पनि सेवा मुखी बनाउने बताए । उनले बिद्यार्थीहरुलाई दवावमा पारेर डर त्रास देखाएर भन्दा हौसला दिएर पढाउदा बढि प्रभावकारी हुने बताएका छन् । विद्यालयकी सहप्राचार्य बीना कोइरालाले  विद्यार्थीको सर्वाङ्गििण विकास विद्यालयको प्रमुख उद्देश्य रहेको बताइन । कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न सस्कृती झल्कने नृत्य , बिद्यार्थीहरुलाई दबाव रहित पढाउने शिक्षा शैली सम्वन्धी नाटकहरु पनि प्रस्तुत गरेका थिए ।
फागुन २२, २०७२









No comments:

Post a Comment