Saturday, November 28, 2015

मौलाकालिकामा केबलकार निर्माण योजना अलपत्र ।।


निजि क्षेत्रलाई केबलकार निर्माण गर्न दिन्नांै –मन्दिर ब्यवस्थापन   ।



विजय खबर ।
गैंडाकोट । निजि क्षेत्रलाई एकलौटीरुपमा केबलकार निर्माण गर्न मौलाकालिका मन्दिर ब्यवस्थापनले नदिएपछि केबलकार निर्माण योजना अलपत्र परेको छ । ४ बर्षअघि नै केबलकार निर्माणका लागी निजी क्षेत्रले तदारुकता देखाएको थियो तर मन्दिर ब्यवस्थापनले नमानेको चितवनका एक ब्यवसायी बताउँछन् । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष बिष्णुहरि रिमालले गैडाकोटका स्थानिय ब्यक्तिहरुको पनि स्वामित्व रहनेगरि केबलकार बन्नुपर्ने बताए । केबलकार निर्माणकालागि मन्दिरको ३४ औ साधारणसभाले २ बर्ष अगाडि नै निर्माण समिति गठन गरेको थियो ।
उक्त समितिले सबैको सहभागिता रहनेगरि केबलकारको निर्माण गर्न सरोकारवाला पक्षसँग छलफल गरिरहेको रिमालले बताए । निर्माण समितिका संयोजक शालिकराम सापकोटाले प्रारम्भिक छलफल भएपनि ठोस रुपमा काम अगाडि नबढेको बताएका छन् । कालिका कन्ष्ट्रक्सनका बिक्रम पाण्डे, आईएमई गु्रपका चन्द्र ढकाल, केशब कंडेल, मदनभक्त अधिकारी लगायतका ब्यक्तिले ५१ प्रतिसत आफ्नो सेयर रहने गरि  निर्माण गर्ने चाहना राखेको तर त्यस्तो प्रस्ताव आफूहरुले अस्किार गरेको सापकोटाले बताए । उनले केबलकार निर्माण गर्ने स्थानिय क्षेत्रका ब्यक्तिको लगानी बिना मनकामना मन्दिरको जस्तो एकलौटीरुपमा ब्यक्तिलाई  जिम्मा दिएर केबल बन्न नदिने अडान दोहोराएका छन् । सामुहिकरुपमा लगानी गर्नेगरि पुजीँ जुटाउन सक्नुहुन्छ त भन्ने प्रश्नमा सापकोटाले गैंडाकोटबासीसँग प्रशस्त पुजी रहेको तर लगानीको बाताबरण बन्न मात्र नसकेको दाबी गरे ।

केबलकारमा लगानी गर्न एन आर एनले पनि रुचि देखाएको छ ।‘मौलाकालिकामा केबलकार निर्माण गर्न म लगायतका केहि साथीहरुको चाहना छ’ एन आर एन का पूर्व अध्यक्ष जीवा लामिछानेले भने ।उनले गैंडाकोट देखि देबघाट जोड्ने गरि अत्याधुनिक प्रबिधिसहितको  केबलकार निर्माण गर्ने प्रस्ताब समेत गरे । तर मौलाकालिका मन्दिर ब्यबस्थापन भने कुनै निजी ब्यक्ति वा समुहको बहुमत लगानी हुने गरी केबलकार निर्माण गर्न दिने पक्षमा छैन । केबलकार निर्माण समितिको सदस्य विजय विकास स्रोत केन्द्रका अध्यक्ष खेमराज सापकोटाले नवलपरासी र गैडाकोटबासीको संलग्नता रहनेगरि नै केबलकार निर्माण हुनुपर्ने बताउँछन् । गैंडाकोट सहकारी ग्रामको रुपमा विकास भैरहेकाले सामुहिक लगानीबाट केबलकार सञ्चालन गर्दा यस क्षेत्रको पहिचान झल्कने सापकोटाको भनाई छ । केबलकार निर्माणकै बिषयमा सरोकारवालासँग पटक पटक छलफल भैरहेको भए पनि ठोसरुपमा योजना निर्माण हुन नसकेको सापकोटा बताउछन् । 

देबघाट क्षेत्रविकास समितिले पनि मौलाकालिका मन्दिरमा केबलकार निर्माणमा चासो देखाएको छ । उसले गंैडाकोट देखि देबघाटसम्म जोड्ने पुलको रुपमा केबलकार निर्माण भए देबघाटको पर्यटन बढ्ने आशा लिएको छ । केबल निर्माणका बिषयमा भैरहेका हरेक छलफलमा सहभागी देबघाट क्षेत्रविकास समतिले गंैडाकोट, मौलाकालिका र देबघाटमा गरि तिन स्टेसन रहनेगरि केबलकार सञ्चालन गर्नुपर्ने तर्क प्रस्तुत गर्दै आएको छ । तर मौलाकालिका मन्दिर भने पहिलो प्राथमिकतामा गैंडाकोट देखि मौलाकालिका सम्म मात्र केबलकार निर्माण गर्ने तयारीमा रहेको बताउँछ । यदि क्षेत्रविकास समतिले पनि सामुहिक लगानीको अवधारणा अनुसार लगानी जुटाउँछ भने गैंडाकोट देखि देबघाटसम्म केबलकार जोड्न आफूहरुलाई कुनै आपत्ती नहुने केबलकार निर्माण समतिका संयोजक शालिकराम सापकोटा बताउँछन् । सापकोटाले क्षेत्रविकास समिति सरकारी तवरबाट आउने रकमको आश गरेर बस्ने संस्था भएकाले उसले लगानी गर्नेमा शंका ब्यक्त गर्छन् । उनले भने “मैले विकास समितिका अध्यक्ष शैलेन्द्र पियालाई भनेको छु तपाईहरु अग्रसर बन्ने हो भने देबघाटसम्म केबलकार आउँछ होईन भने हामी मौलाकालिका देखि गैंडाकोटसम्म मात्र केबलकार बनाउछांै । केबलकार निर्माणमा सामुहिक लगानी किन खोजियो भन्ने प्रश्नमा सापकोटा थप्छन् ब्यक्तिगत लगानी धेरै हुँदा लगानी कर्ताले आफ्नो आर्थिक लाभका लागि केबलकार सञ्चालन गर्न सक्छन् यदि सामुहिक लगानी भयो भने सुलभरुपमा स्थानीय जनता एवम् मन्दिर दुवै पक्षको हितमा सञ्चालन गर्न सकिन्छ ।बाह्य  लगानी धेरै हुँदा स्थानीयको मुद्धा एवम् मन्दिरको गरिमा समेत ओझेलमा पर्न सक्छ ।

स्थानीय जनताको सामुहिक लगानी जुटाउन प्रयाप्त पहल पनि नहुने र ब्यक्तिगत लगानीको ढोका पनि नखोल्ने कार्यले केबलकार सञ्चालनको अबधारणलाई केबल कुरामा मात्र सिमित गराएको छ । सामुहिक हित र गैंडाकोट क्षेत्रको पहिचानको लागि स्थानीय लगानीलाई प्राथमकिता दिनु आफैमा आदर्श कार्य हो । तर यसको ब्यवाहारिक कार्यन्वयनमा तदारुकता विना केबलकार निर्माणको योजनाले ठोस रुप पाउन कठिन छ ।यहि गतिमा काम हुने हो भने अझै २ बर्ष केबलकार निर्माणको काम सुरु नहुने मौलाकालिका मन्दिर ब्यबस्थापनलाई नै लागेको छ । केबलकार निर्माण भएमा गैंडाकोट देखि देबघाटसम्मकै धार्मिक पर्यटकिय बिकाश हुने निश्चित छ ।  

No comments:

Post a Comment