Saturday, November 28, 2015

हामी दुर्घटना कुरिरहेका त छैनौँ ?





विजय खबर ।
गैँडाकोट । कार्तिक २४ गते गैँडाकोटको जयश्री खोलाको डाईभर्सन तर्ने क्रममा पराल बोकेको ट्याक्ट्रर दुर्घटना भयो ।  त्यसको १० दिन पछि सोहि ठाँउमा एक साईकलयात्री दुर्घटनामा परे ।  सनिबार मात्रै वुटवल तर्फ जाँदै गरेको एक मोटरसाईकल दुर्घटनामा पर्यो । दुर्घटनामा मोटरसाईकलको पछाडि सवार एक जना  घाईते भए । यी त केहि उदाहरण मात्रै हुन् । जयश्री खोला्मा बनेको डाईभर्सन अहिले दुर्घटना र प्रदुषणको केन्द्र बनेको छ । 
गत श्रावण ११ गते जयश्री पुल भाचिएपछि अल्पकालिन समयका लागी डाईभर्सन बनाईएको थियो तर त्यो डाईभर्सनको बिकल्प नसोच्दा अहिले दुर्घटनाको केन्द्र बनेको हो । डाईभर्सन तर्नकालागि झर्ने र तरेपछि चढ्ने बाटो निकै खतराजनक छ ।
बेलीब्रिजको अगाडी र पछाडीको बाटोको अवस्थाका विषयमा सडक डिभिजन कार्यलय बुटबलका प्रमुख मेघराज मरासिनी भने बेखबर भएको बताउँछन् “मलाई बाटो जोखिम पूर्ण रहेको छ भन्ने थाहा थिएन, तँपाईले सुझाब दिनुभयो, अब अहिल्यै त्यसको मर्मतको लागि प्रक्रिया सुरु गर्दछु ।” जयश्री पुल वारी पारीको बाटो बाट सवारी साधनले पाएको सास्तीका विषयमा मलाई म भन्दा तल्लो निकायबाट सुचना नआएको कारण मर्मत कार्य नभएको प्रमुख मरासीनीले बताए ।
दु्ई तीन महिनाका लागि भनेर बनाइएको बेलीव्रिजको पाँच महिना वितिसक्दा पनि विकल्प खोज्ने काम भएको छैन । पुल निर्माणको ढिलासुस्तीका विषयमा सडक डिभिजन कार्यलयका प्रमुख मरासीनी यसो भनेर उम्किन खोजे “तराईमा भएको मधेस आन्दोलन  र दशैँ तिहारको विदाका कारण काममा अलिकता ढिलाई हुन पुगेको हो, तर वेवास्ता गरेरै ढिलासुस्ती गरेको चाँही होइनौँ ।” उनले पुल नबने पनि बेलीब्रीजले अझै ४ बर्ष धान्ने दाबी समेत गरे । तर सवारी चालक भने बेलिव्रिज जोखिम पूर्ण बनेको गुनासो गर्दछन् ।

यता गैँडाकोट नगरपालिकाले भने बाटोको मर्मतका लागि पटकपटक सडक डिभिजन कार्यलयलाई सुचित गरेको बताएको छ । जयश्री खोलाको बेली ब्रिज वारिपारिको धुलाम्य सडकका कारण स्थानिय बासिन्दाले सास्ती भोग्नु परेका कारण डिभिजनलाई सूचित गरिसकिएको नगरपालिकाका कार्यकारी अधिकृत बद्रि प्रसाद तिवारीले बताए । उनले नगरपालिकाले बेलीव्रिजको विकल्पका रुपमा पुल बनाउन नसक्ने भएकोले स्थानिय विकास अधिकारी र सडक डिभिजन कार्यलयलाई अनुरोध गरिरहेको बताए । 
डाइभर्सनका कारण नजिक्रै रहेको नारायणी माध्यामिक विद्यालय पनि प्रभावित बनेको छ । धुलो उडेर कक्षा कोठा सम्मै पुग्ने समस्या मात्र होइन विद्यार्थीलाई बाटो काट्न मुश्किल भएको विद्यालयका शिक्षक गोविन्द रिमालले बताए । एक तर्फिमात्र सवारी आवागमन हुन सक्ने डाइभर्सन तर्न कुरेर रोकिएका सवारी साधनको ध्वनीका कारण पढाउन अप्ठेरो हुने शिक्षक रिमालले बताए । सवारी साधनको लामो लाइन रहिरहने हुँदा विद्यार्थीले बाटो काट्न नसकेको उनको भनाई थियो ।
दुर्घटनाका लागि केन्द्र बन्दै गएको जयश्री पुलको समस्या समाधान यो आर्थिक बर्षमा सम्भव देखिएको छैन । आउँदो बैशाख जेठसम्ममा नयाँ पुल बनाई सक्ने गरि पक्रिया सुरु भएको पनि मरासीनीले बताए । अहिले पुल निर्माणको लागि स्थलगत सर्भेक्षण र माटो परिक्षणको काम भैरहेको छ, करिब एक महिना पछि सर्भेक्षणको रिपोर्ट आउने र त्यसपछि मात्रै पुलको कामले तदारुकता पाउने, ठेक्का पक्रिया पनि सुरु हुने उनले सुनाए । अहिले भाँचिएको पुललाई विस्थापित गरि ३२ मिटरको २ लेनको पुल बन्ने गरि सर्भेक्षण गरिएको उनको भनाई छ । सडक डिभिजन कार्यलयले नारायणगढ बुटवल सडक खण्डलाई ४ लेनको बनाउने योजना बनाएको छ । ४ लेनको सडक बनेको खण्डमा पनि जयश्री खोलामा बन्ने २ लेनको पुलले खासै फरक नपर्ने पनि डिभिजन प्रमुख मरासीनिको भनाई छ ।

पूर्व पश्चिम राजमार्गलाई जोड्न अहिले यो पुल बाहेक अरु कुनै विकल्प पनि छैन । गत साउनमा यस पुल भाँचिदा पुर्व पश्चिम भई गुड्ने सवारी साधन एक हप्तासम्म अवरुद्ध भएका थिए । तर बेलैमा फेरि पनि जयश्री पुलको निर्माणमा भैरहेको ढिलासुस्तीले फेरि त्यो दिन आउन सक्ने सम्भावन रहेको स्थानियको भनाई छ ।

No comments:

Post a Comment